बुधवार, भाद्र ३ गते २०८३

जाजरकोटको भेरी पहिरो अपडेट :चार जनाको मृत्यु, ६ घाइते

आइतवार , श्रावण ३१, २०८३

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । शनिबार बेलुकी पहिरोमा परेर बेपत्ता भएका तीन जनाको शब आइतबार बिहान फेला परेसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो । यसअघि पहिरोमा परेर घाइते भएका एक जनाको उपचारका क्रम्मा मृत्यु भएको थियो ।

पहिरोमा परेर मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् । उपचारका क्रममा भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । ३० साउन दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन् ।

यस्तै, भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् । आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै उनलाई मेडिकल कलेज कोहलपुर लगिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार