काठमाडौँ । निस्ट फाउन्डेसनले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई उच्च शिक्षा, प्राविधिक शिक्षा तथा चिकित्सा शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै अभिनन्दन गरेको छ।
फाउन्डेसनले शर्मालाई अभिनन्दनपत्र प्रदान गर्दै उहाँलाई नेपाली उच्च शिक्षाका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरेको छ।
अभिनन्दनपत्रमा शर्माले प्रतिकूलताबीच काठमाडौं विश्वविद्यालय स्थापना गरी दुई दशकभन्दा लामो समय नेतृत्व गरेको तथा विश्वविद्यालयलाई स्वायत्त, गैरसरकारी र अन्तर्राष्ट्रिय छवि बोकेको प्राज्ञिक संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।
अभिनन्दनपत्रमा शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालयले उच्च शिक्षाको दायरा विस्तार गर्न योगदान पुर्याएको उल्लेख गर्दै उहाँको जीवनलाई शिक्षा क्षेत्रमा दृढ संकल्प र निष्काम कर्मको उदाहरणका रूपमा चित्रण गरिएको छ।
त्यस्तै, फाउन्डेसनले शर्मालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संस्थापक प्रमुखका रूपमा नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
गैरसरकारी क्षेत्रबाट चिकित्सा शिक्षामा समेत उहाँले दूरदर्शी पहलमार्फत गुणस्तरीय परिवर्तन ल्याउन योगदान गरेको अभिनन्दनपत्रमा उल्लेख छ।
फाउन्डेसनका अनुसार शर्माको शैक्षिक योगदानले देश तथा विदेशमा रहेका विद्यार्थीमा ज्ञान, प्रविधि र नैतिकताको ज्योति फैलाउन योगदान पुर्याएको छ। अभिनन्दनपत्रमा उहाँको दूरदर्शिता, सरलता, शिष्टता, शालीनता, नम्रता, भद्रता, विनयशीलता, कार्यकुशलता र निष्ठालाई नेपाली प्राज्ञिक इतिहासमा अनुकरणीय पक्षका रूपमा उल्लेख गरिएको छ।
फाउन्डेसनले शर्माको ८७ वर्ष प्रवेशको विशेष तथा ऐतिहासिक अवसरलाई समेत उल्लेख गर्दै उहाँको दीर्घायु, उत्तम स्वास्थ्य, निरन्तर ऊर्जा र सक्रिय जीवनको शुभकामना व्यक्त गरेको छ।
अभिनन्दन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता निस्ट फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले गरेका थिए।
कार्यक्रममा नेपाल हाइयर एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तीर्थराज खनिया, काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. सीताराम अधिकारी, नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेश जोशी, नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष प्रा. डा. शत्त्रुघ्न प्रसाद गुप्तालगायत सहभागी थिए।
कार्यक्रममा प्रा. डा. सीताराम अधिकारीले शर्माको व्यक्तित्व तथा योगदानबारे मन्तव्य राखेका थिए भने शर्मासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो।
फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले दोसल्ला ओढाएका थिए भने प्रमुख अतिथि खिलराज रेग्मीले अभिनन्दनपत्र प्रदान गरेका थिए।
प्रा. डा. तीर्थराज खनियाले पुष्पगुच्छ अर्पण गरेका थिए।
कार्यक्रममा प्रा. डा. शत्त्रुघ्न प्रसाद गुप्ता, प्रा. डा. महेश जोशी, प्रा. डा. तीर्थराज खनिया, प्रा. डा. सुरेशराज शर्मा र प्रमुख अतिथि खिलराज रेग्मीले मन्तव्य राखेका थिए।
निस्ट फाउन्डेसनका कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङले स्वागत मन्तव्य राखेको कार्यक्रममा फाउन्डेसनकी कार्यकारी निर्देशक प्रणिता शर्मा बरालले धन्यवाद ज्ञापन गरेकी थिइन्।
फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले कार्यक्रम समापन गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई आगामी वर्षहरूमा पनि पहिचान गरी सम्मान गर्दै जाने बताए।
उनले शर्माजस्तो विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गर्न पाउँदा फाउन्डेसन परिवार खुसी रहेको उल्लेख गरे।