काठमाडौं । सुनसरीको तत्कालीन धरान नगरपालिका (हाल धरान उप महानगरपालिका) का प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भएको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
ख्तिवडासहितको मिलेमतोमा हाल धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारेस्थित श्री नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा कायम गरेको आरोप प्रतिवादीलाई लगाइएको छ । धरान नगरपालिका उप महानगरपालिका हुनुअघि यो जग्गा सुनसरीको साविक भादगाउँ सिनवारी गाउँ विकास समिति (गाविस) वडा नं. मा पर्दथ्यो ।
आयोगका अनुसार मन्दिरको नाममा रहेको उक्त जग्गा २०६४ सालमा झुठ्ठा व्यहोरा भएको सर्जमिन मुचुल्का बनाई मन्दिरका पुजारीसमेतको मिलेमतोमा व्यक्तिको नाममा कायम गरिएको थियो ।
यस कार्यमा संलग्न भएको आरोपमा आयोगले खतिवडासहित तत्कालीन् सिंगिया गाविकासका सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन् मालपोट अधिकृत (हाल अवकास) सुशील वैद्य, तत्कालीन् अधिकृत (हाल अवकास) तुङ्गनाथ भण्डारी र तत्कालीन् नायब सुब्बा केदारबहादुर कार्की (हाल अवकास)लाई पनि प्रतिवादी बनाएको छ ।
त्यस्तै, तत्कालीन् धरान नगरपालिका वडा नं. १४ का अध्यक्ष उत्तम आले,नरसिंह भगनाव मन्दिरका पुजारी टिरु चौधरी, स्थानीय जग्गा कारोवार गर्ने व्यक्ति पंकज घिमिरे र भागमैन थरुनीलाई पनि प्रतिवादी बनाइएको छ ।
आयोगले थरुनीबाहेक सबै प्रतिवादी सबैलाई ३६ लाख दश हजार रुपियाँ बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ ।