काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।
पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यसक्रममा प्रहरी र पत्रकारहरुबीच केहीबेर घम्साघम्सी परेको थियो ।
शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरु आक्रोशित भएका थिए । उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’ भन्दै नारासमेत लगाए ।
कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाए ।उनीहरुले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’, ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । कतिपयले बलिरहेको लाल्टिनसमेत बोकेर प्रदर्शन गरे ।
हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।