आइतवार, श्रावण २४ गते २०८३

आठबीसकोट नगरपालिकाको मिलेमतोमा सहकारीको नाममा ऋण, व्यक्तिगत काममा प्रयोग

बिहिवार , श्रावण २१, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका नगर प्रमुख रवी केसीसहित एघार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आठबीसकोट दुग्ध सहकारी नामक डेरी सञ्चालन गर्दा व्यवसायीलाई दिइएको ऋणको दुरुपयोग गरेको आरोपमा उहाँहरुविरुद्ध विहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । 

आयोगले केसीसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुखद्धय सुवर्णसिंह ठकुरी र ज्ञानुकुमार शर्मा, कार्यालयका पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन, कृषि अधिकृत मिनबहादुर केसीलाई पनि प्रतिवादी बनाएको छ । 

त्यस्तै,आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाया, सचिव गोबिन्दप्रकाश खड्का,कोषाध्यक्ष जुनकुमारी चनेललाई पनि प्रतिवादी बनाइएको छ । 

प्रतिवादीलाई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ । आयोगका अनुसार प्रतिवादीको मिलेमतोमा डेरी सञ्चालन गर्ने भनी नगरपालिकाबाट लाखौँ रकम लिई दुई वर्ष बितिसक्दा पनि सञ्चालन नगरेको पाइएको छ । 

 साथै, हाल डेरीको नाममा सरकारी गाडी निकाली व्यक्तिगत कार्यमा प्रयोग गरिरहेको पनि अनुसन्धानबाट खेलेको छ । प्रतिवादीलाई फरक फरक बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार