काठमाडौँ ।असार २५ भन्दापछि काठमाडौँ उपत्यका र उपत्यका बाहिर आत्मदाह सम्बन्धी १० वटा घटना भएका छन् ।
काठमाडौँमा मात्र ७ वटा आत्मदाह प्रयास र आत्मदाहका घटना भएका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ जवलधारा घर भएका २५ वर्षीय गणेश नेपालीले असार २५ मा आत्मदाह गरेपछि घटना एकपछि अर्को हुँदै बढेको हो ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो । पार्किङको विषयमा काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीसँग विवाद हुँदा उनले आत्मदाह गरेका हुन् । घटनको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन गरिएको छ ।
साउन ४ मा काठमाडौँ महानगरपालिका वडा नम्बर–६ स्थित बौद्ध गेट नजिकै खाजा पसल चलाउँदै आएकी २७ वर्षीया सालु गुरुङले आत्मदाह प्रयास गरिन् । अहिले उनको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार हुँदै छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–३ घर भएर गुरुङ र उनका श्रीमान् गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा बस्दै आएकी थिइन् ।
असार २७ मा बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले आत्मदाह गरे । उनले आफ्नै घरको भान्साकोठामा आफैँलाई आगो लगाएका हुन् । उपचराको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।
साउन ५ मा कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका सुरेशचन्द्र श्रेष्ठले पनि आत्मदाह गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुर स्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए । आफैँले चलाएको बा।५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा उनले आफैँलाई जलाएका हुन् । श्रेष्ठ औषधीको व्यवसाय गर्दै आएका थिए । उपत्यकामा भएका घटनाहरू मध्ये रश्मी रिजालको आत्मदाह पाँचौँ घटना हो ।
काठमाडौँमा भएका थप दुई वटा आत्मदाह प्रयासको घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर काउन्सेलिङ गरेको छ । कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्दै आएका एक पुरुषलाई उद्धार गरिएको थियो ।
नगर प्रहरीको हस्तक्षेपका कारण तरकारी बेच्ने समय थोरै भएको हुनाले जीविकोपार्जन कठिन भएको भन्दै उनले साउन ४ मा आत्मदाह प्रयास गरेका हुन् । यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै अर्का एक युवाले पनि शीतलनिवास अगाडि आत्मदाह प्रयास गरे । आत्मदाह गर्न खोज्ने २७ वर्षीय उनलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ । उनी रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।
सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो । असार २६ मा गोडैता नगरपालिका–१० घर भएका ३५ वर्षीय मण्डलले आत्मदाह प्रयास गरेका थिए । उपचारको क्रममा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा साउन २ मा ५ जना कैदीबन्दीले आत्मदाह प्रयास गरे । रौतहटको गरुडामा असार ३१ मा २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाह प्रयास गरे । गरुडा नगरपालिका वडा नम्बर–९ घर भएका सहनीको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।