काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिंचाई विकास कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैठौं) तुलाकान्त चौधरीलाई सात लाख ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ ।
बोरिङ र मोटर जडान कार्य सम्पन्न गरेपछि भूक्तानी दिने क्रममा दुःख दिएको उजुरीको आधारमा गएको आयोगको टोलीले ढकाल र चौधरीलाई नियन्त्रणमा लिएको हो ।
यस विषयमा उजुरी आएपछि आयोगको महोत्तरीस्थित बर्दिबास कार्यालयबाट टोली गएको थियो ।
आयोगको टोलीले ढकाल र चौधरीको साथबाट सात लाख पचास हजारबाहेक स्रोत नखुलेको ७१ हजार एक सय १५ रुपियाँ र तनि थान मोबाइल पनि नियन्त्रणमा लिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।