काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले अहिले राज्य संकटमा परेकोले सबै दल एकजुट भएर राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे ।
पछिल्लो समय सिंह आफ्नै पार्टी र सरकारको गतिविधिप्रति सन्तुष्ट छैनन् । उनको यो प्रस्तावलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । यो प्रस्तावको आशय कतै राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि पहल गरिएको त होइन भनेर अथ्र्याउने गरिएको छ ।
‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन् ।
साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे । उनले यसैहप्ता आत्मदाह प्रयास गरेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे ।