आइतवार, श्रावण २४ गते २०८३

खानेपानी कार्ययोजना १५ दिनभित्र पेश गर्न सरकारलाई पूर्वाधार विकास समितिको निर्देशन

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण पेश गर्न निर्देशन दिएको छ।

बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी १५ दिनभित्र समयसीमासहित ९टाइमलाइन० स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । 

बैठकमा सभापति गजुरेलले ७७ वटै जिल्लाका करिब तीन करोड नागरिकलाई पर्याप्त र स्वच्छ खानेपानीको व्यवस्था कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा सरकारसँग जवाफ मागेका थिए । उनले काठमाडौं उपत्यकालगायत देशभर खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानी उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भएको बताए । 

समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमन गर्ने तयारीसमेत गरेको छ। यसका लागि सरोकारवाला निकायसँग प्राथमिकता र योजनासम्बन्धी विवरण माग गर्ने निर्णय पनि गरिएको छ।

सभापति गजुरेलले भन्नुभयो, “आम नागरिकलाई स्वच्छ खानेपानी कहिलेसम्म उपलब्ध हुन्छ भन्ने प्रश्नको ठोस उत्तर अझै प्राप्त हुन सकेको छैन। त्यसैले आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमासहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका छौँ। प्राप्त कार्ययोजनाका आधारमा समितिले नियमन र अनुगमनको प्रक्रिया अघि बढाउनेछ।”

बैठकमा सडक सुरक्षा विधेयक तथा विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। यस सम्बन्धमा मन्त्रालयबाट आवश्यक काम भइरहेको जानकारी प्राप्त भएको र समितिले त्यसको निरन्तर अनुगमन तथा फलोअप गर्ने सभापति गजुरेलले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार