विराटनगर । नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको निवास तथा घरअगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घर वा गाडीमा कुनै शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार, गिरीले कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गर्ने गरेको आरोप छ ।
मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी छन्, जसले दैनिक ८० रुपैयाँका दरले करिब १६ हजार रुपैयाँ भत्ता पाउने गर्छन् । त्यसबाहेक कारागारभित्र करिब ५ सय जनाले मुडा बुन्ने र १ सय जनाले गलैँचा बुन्ने काम गर्ने गर्दछन् ।
ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार कैदीबन्दीको पैसा कुन–कुन च्यानलबाट गिरीको खातामा पुग्यो भन्नेबारे प्रारम्भिक सूचनाका आधारमा प्रमाण संकलन भइरहेको छ ।
प्रहरीले हाल गिरी र कारागारका चौकीदारबीचको आर्थिक लेनदेनको विषयमा बैंकिङ कारोबार र अन्य प्रमाणहरू केलाइरहेको छ ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
उनी यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।
गिरी कारागारबाट छुटेपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।