काठमाडौं । भक्तपुरको राधेराधे चोकैमा रहेको १७ तले अग्लो भवनको समस्या सल्टाउन भक्तपुर नगरपालिका सक्रिय भएको छ ।
उक्त क्षेत्र वरिपर भएर हिंड्ने हजारौको चासोको विषय रहेको उक्त ठूलो र अग्लो भवन झण्डै डेढ दशकदेखि अलपत्र छ । भवन ठड्याउने काम सकिएको भएपनि आधा भन्दा बढी काम अझै बाँकी छ ।
१७ तलाको उक्त भवनमा झ्याल ढोका हाल्न, रंग लगाउन, बिजुली जोड्नलगायत थुप्रै काम बाँकी छ ।
राधेराधे चोकमा ६ रोपनी तीन आना क्षेत्रफलमा भवन बनेको छ । तर दैनिक हजारौंको ओहोरदोहोर हुने सडकखण्डमा पर्ने सो भवन देख्दा एउटै प्रश्न आउँछ–यत्रो ठूलो भवन बनाएर किन यत्तिकै छोडिएको होला ?
कुनैबेला भारतीय नायक गोबिन्दाको समेत लगानी रहेको भनिएको उक्त भवन बनाउन सुरुमा भवन धनीले पाँच तले आवास बनाउनका निम्ति नगरपालिकाबाट स्वीकृति लिएका थिए ।
पछि आवासको प्रयोजन परिवर्तन गरेर होटल प्रयोजनका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट १७ तलाको स्वीकृति लिएको थियो ।
सो भवनले राजकुलो र सडकको जमिन मिचेको नगरपालिकाको आरोप पनि लगाइएको छ । १७ तला भवन ठड्याएपछि नगरपालिकाले काम रोकेको बुझिएको छ । अहिले भक्तपुरगरपालिकाले प्राविधिज्ञ लगाएर उक्त भवनको बारेमा अध्ययन गरिरहेको छ ।
अध्ययन सकिएपछि छिट्टै कुनै एउटा निर्णयमा पुगिने नगरपालिकाले जनाएको छ ।