काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ भने ४२.३८ प्रतिशत उत्तिर्ण भएका छन् । दुवैतर्फको जोड्दा औशतमा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
जेठ १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए ।
जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ ।
यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । सरकारले एसईई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो ।