काठमाडौँ — अमेरिका र इरानबीच वर्षौँदेखि जारी सैन्य तनाव अन्त्य गर्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मुज' जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति जुटेको घोषणाले विश्व वित्तीय बजारमा तीव्र प्रतिक्रिया देखिएको छ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्झौताको पुष्टि गरेलगत्तै सोमबार विश्वबजारमा यसको प्रत्यक्ष असर देखिएको हो।
यो खबर सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ। इन्धन आपूर्तिमा सहजता आउने विश्वासका कारण ब्रेन्ट क्रुड को मूल्य करिब ४.५ प्रतिशतले घटेर प्रतिब्यारेल ८४ डलरभन्दा तल ओर्लिएको छ।
इरानमाथिको अमेरिकी नाकाबन्दी हट्ने र दैनिक लाखौँ ब्यारेल तेल बजारमा थपिने अपेक्षाले लगानीकर्ताहरू उत्साहित भएका हुन्।
तेलको मूल्य घट्दा विश्वभरका केन्द्रीय बैंकहरूलाई महँगी नियन्त्रण गर्न राहत मिल्ने अनुमानबीच एसिया-प्रशान्त क्षेत्रका सेयर बजारहरूमा हरियाली छाएको छ।
सोमबार बिहानको कारोबारमा जापानको निक्केई २२५ सूचक ५.५ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ५.७ प्रतिशतले बढेका छन्। यस्तै, अमेरिकी सेयर बजारका फ्युचर्स सूचकहरूमा पनि उछाल आएको छ।
विज्ञहरूका अनुसार लामो समयदेखिको भूराजनीतिक जोखिम कम भएकाले लगानीकर्ताहरू सुरक्षित सम्पत्ति (जस्तै सुन वा डलर) छोडेर सेयर बजार र औद्योगिक क्षेत्रतर्फ आकर्षित हुन थालेका छन्।
आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने औपचारिक हस्ताक्षरपछि बजार अझ बढी स्थिर हुने अपेक्षा गरिएको छ।