काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा सूचीकृत गर्दै आफ्नो कालोसूची (ब्ल्याक लिस्ट)मा राखेको छ ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको अद्यावधिक कालो सूचीमा अलीबाबा, बीवाईडी र बाइडु पनि समावेश छन् ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले पेन्टागनको सो निर्णयको आलोचना गर्दै यसलाई ‘भेदभावपूर्ण र गलत अभ्यास’ भनेर आलोचना गरेको छ ।चीनको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अलीबाबाले आफूलाई कालोसूचीमा राख्न कुनै आधार नभएको भन्दै यसविरुद्ध ‘कानुनी उपाय’ अपनाउने प्रतिक्रिया दिएको छ । बीवाईडी र बाइडुले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
पेन्टागनले हरेक वर्ष अद्यावधिक गर्ने ‘चिनियाँ सैन्य कम्पनीहरू’को सूचीमा अहिले १८८ कम्पनी समावेश छन्, जुन सन् २०२५ मा १३४ थियो ।