काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा प्रसारण (एक्द्य) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८ जनाको नाम स्वीकृत भएको मन्त्रालयले जनाएको छ । यस संस्था अन्तर्गत राज्य नियन्त्रित नेपाल टेलिभिजनर रेडियो नेपाल सञ्चालनमा छ । यस संस्थाको अध्यक्षको लागि मन्त्रालयले २०८३ जेठ ९ गते आवेदन आह्वान गरेको थियो । उक्त पदमा आवेदन दिएकामध्ये योग्यता पुगेका २८ जना उम्मेदवारको नामावली मन्त्रालयले जेठ १८ गते सार्वजनिक गरेको हो ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै छाताभित्र राखेर सरकारले २०८१ कात्तिक २३ गतेदेखि सार्वजनिक सेवा प्रसारण संस्था बनाएको थियो । रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाल र सञ्चार सस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएका हुन् ।
यी हुन् अध्यक्ष पदका आकांक्षीहरू
अध्यक्ष बन्ने प्रतिस्पर्धामा पूर्व कर्मचारी, पत्रकारहरू, सञ्चारविज्ञ लगायतका व्यक्तिहरू रहेका छन् ।
स्वीकृत नामावली अनुसार अमरध्वज लामा (काभ्रे), अच्युतम कुमार पोखरेल, पुनम पौडेल (ललितपुर), केदारनाथ कोइराला (भक्तपुर), डा. मधुसुधन न्यौपाने (काठमाडौं) र आलोक कुमार तिवारी ( कपिलवस्तु) प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, लक्ष्मण हुमागाई (काभ्रे), पुष्करराज गौतम (काठमाडौं), भुवन प्रसाद आचार्य (पर्वत), उत्तर सिंह विष्ट (कैलाली), मनोहरि थापा (उदयपुर) र सुरेश शर्मा (काठमाडौं) पनि यो दौडमा सामेल छन् ।
सूचीमा चिन्तामणि बराल (गुल्मी), बुद्धि बहादुर केसी (काठमाडौं), नवराज सापकोटा (काठमाडौं), रुद्र बहादुर खड्का (रुकुम पश्चिम), तिलक जंग बुढाथोकी (धनकुटा), हिक्मत बहादुर रावल (कैलाली), विश्वराज खनाल (तनहुँ) र शरदचन्द्र अधिकारी (संखुवासभा) को नाम पनि समावेश छ ।
यस्तै सुभाष कुमार साह वियोगी (धनुषा), प्रद्युम्न पौडेल (काठमाडौं), भेषराज पाण्डे (कपिलवस्तु), कुमारी निमा काफ्ले (कञ्चनपुर), शिशिर पौडेल (रुपन्देही), गोविन्द भण्डारी (भक्तपुर), विवेक रेग्मी (गोरखा) र धन बहादुर मिजार (नुवाकोट) को आवेदन पनि स्वीकृत भएको छ ।
’सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ अनुसार उम्मेदवारहरूले संस्था सुधारका लागि ५,००० शब्दको व्यावसायिक कार्ययोजना पेश गरेका छन् ।
undefined
अब उनीहरूको कार्ययोजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।
अध्यक्ष बन्नका लागि कम्तीमा १५ वर्षको अनुभव र उच्च नैतिक चरित्र हुनुपर्ने प्रावधान छ । सिफारिस समितिले कार्ययोजना, अनुभव र अन्तर्वार्तामा प्राप्त गरेको कुल अङ्कको आधारमा सबैभन्दा अब्बल ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ ।
यी मध्येबाट एक जनाले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बन्ने अवसर पाउनेछन् ।