काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कसैबाट दुव्र्यवहार वा पिडामा परेमा तुरुन्त खबर गर्न विद्यार्थीलाई अनुरोध गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न मन्त्रालयले नयाँ पहल सुरु गरेको हो ।
मन्त्री सस्मित पोखरेलले सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुव्र्यवहार भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पोखरेलले आह्वान गर्दै विद्यालय तह र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै आफूमाथि भएको वा भइरहेको दुव्र्यवहारबारे जानकारी दिन अनुरोध गरे । सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले प्राप्त गुनासोहरूमाथि तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।
उनले लेखेका छन्, “मन्त्रालयले विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ ।” शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुव्र्यवहार र शोषणका विरुद्ध मन्त्रालयले शून्य सहनशीलताको नीति अङ्गीकार गरेको मन्त्री पोखरेलको भनाइ छ ।