काठमाडौं। नेपाली कांग्रेसका युवा नेता बद्री अर्यालले कांग्रेसको राजनीतिमा लामो समय बिताए। पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेका उनी पार्टीले देश र जनताको भावनाको सम्बोधन हुने गरी काम गर्नुपर्ने बताउँछन्।
धादिङका अर्यालले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, सह–महामन्त्री र कोषाध्यक्ष भएर पनि काम गरिसकेका छन्। कांग्रेसको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने सोचमा रहेका उनीसँग पार्टीको महाधिवेशन, सरकारले गर्नुपर्ने कामका साथै समसामयिक विषयमा शैली न्युजले गरेको कुराकानी–
कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका आएको छ, महाधिवेशन गर्नका लागि, कि नगर्नका लागि ल्याइएको कार्यतालिका हो यो ?
नेपाली कांग्रेसको महाधिवेशन अब गर्दिन भन्ने छुट कसैलाई छैन। महाधिवेशन पक्का हुन्छ तर मुख्य कुरा कोरोना संक्रमण बढ्दै गयो र हामीले त्यसलाई धान्नै नसकिने अवस्था भयो भने, सबै मिलेर महाधिवेशन रोक्न नै दवाव दिनुपर्छ। मानिसको जीवनभन्दा ठूलो त्यो बेलामा महाधिवेशन हुन सक्दैन। पार्टीलाई चलायमान र जीवित राख्नका लागि पनि महाधिवेशन गर्नुको विकल्प छैन।
महाधिवेशन गर्न नचाहने केही व्यक्ति र समूहले बहानाबाजी गरेर भाँड्न खोज्लान् नि ?
महाधिवेशनको विषयमा कसैले त्यस्तो नियत राख्नु हुँदैन। महाधिवेशनमा गएपछि कसैले जित्छ र कसैले हार्छ त्यो स्वभाविक प्रक्रिया हो। तर जितहारको विषयलाई लिएर कसैले त्यस्तो साहस गर्छ भने त्यो कसैलाई मान्य हुँदैन। अहिलेसम्म के कारणले महाधिवेशन हुन सकेन। त्यतातिर नजाऔं, एकले अर्कालाई दोष लगाएर कोही पनि उम्कन मिल्दैन। त्यसैले पनि तोकिएको समयमा महाधिवेशन हुनुपर्छ। यसमा कसैले बदमासी गर्ने नियत राख्नु हुँदैन।
कार्यतालिकामा एउटा र अर्को अधिवेशनको अन्तर बढी छ, यसो हुँदा आन्तरिक चलखेल बढी हुँदैन र ?
यसलाई पनि नराम्रो ढंगले सोच्नु हुँदैन। अलिकति अन्तर नै राखिएको छ। त्यसबीचमा हाम्रा महान चाडपर्व परेका छन्। दशैंको टिकाको दिन त अधिवेशन गर्नु भएन नि। यस्तै अरु पनि धेरै पर्व छन् त्यसलाई सबैले आफ्नै पाराले मनाउाछन् ती सबै विषयलाई ध्यानमा राखिएको हुनुपर्छ। अन्तर बढी राख्दा आन्तरिक चलखेल बढी होला कि भन्ने एउटा गुनासो पनि छ। यसलाई सोझो अर्थमा बुझ्दा कोरोना र चाडपर्व दुवैलाई हेरेर यस्तो निर्णय भएको हुनुपर्छ।
तपाई लामो समयदेखि कांग्रेस र देश र जनता भन्दै हिँड्नुभएको छ, महाधिवेशनमा तपाइको उम्मेदवारी के मा हो ?
हुन त अहिले नै त्यो सबै घोषणा गर्ने बेला भइसकेको छैन। म केन्द्रीय सदस्यको उम्मेदवार बन्ने सोचमा छु। पार्टीका सबै साथीभाइको सल्लाह भएर तपाई जिल्ला तहकै नेतृत्व गर्न योग्य हुनुहुन्छ भनेर सुझाव दिएर पत्याए भने जिल्ला सभापति पनि बन्न सक्छु। म जहाँ बसेर पनि काम गर्ने मान्छे भएकाले मलाई यही चाहिन्छ भनेर गायक प्रकाश ओझाले ‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो गर्दिन।
महाधिवेशनबाट कांग्रेस कस्तो बन्नुपर्छ ?
यहाँ पनि धेरै कुरा आएका छन्। कसैले युवाको हातमा नेतृत्व आउनुपर्छ भनेका छन्। तर सबै युवा मात्र आउन पनि सम्भव छैन। पार्टीमा लामो समय काम गरेका र कांग्रेसकै लागि भनेर जीवन बिताएकालाई पनि सम्मान गर्नुपर्छ। हामी युवा हौं। पुराना मान्छेले काम गर्न सकेनन्। त्यसैले पार्टी कब्जा गर्छौं भन्ने कुरा पनि त्यति व्यवाहारिक भएन। कतिसम्म उमेरकालाई युवा भन्ने विषय पनि अर्को प्रश्न छ। खासगरी भन्ने हो भने युवालाई पार्टी सञ्चालनको जिम्मेवारी दिएर पुराना नेतालाई सम्मान गर्दै उहाँहरुको अनुभव र सीपलाई सही ढंगले पार्टीको काममा प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। अहिले चाहिँ युवाहरु पार्टीको सल्लाहकार र अभिभावकजस्ता भए यहाँ पनि केही समस्या देखियो। युवाको सोच र विचारले पार्टीलाई सही दिशाा दियो भने पार्टी बन्दा त सबैको नै बन्ने हो भन्ने सोच्नुपर्छ। पार्टीमा तीनवटा पुस्ता छ। त्यो सबैको आफ्नो ठाउँमा योगदान र महत्व भएकाले सबैलाई समेटेर जानु आजको सही विकल्प हो। जसले गर्दा कांग्रेसलाई राम्रो बनाउन सकिन्छ।
पार्टीको नयाँ विधान अनुसार महाधिवेशन हुँदैछ, यसले पार्टीलाई कस्तो बनाउँछ ?
नयाँ विधानअनुसार हुने महाधिवेशनले पार्टीलाई झन् मजबुत बनाउने कुरामा कुनै शंका छैन। सबै जातजाति, वर्ग र समुदायको प्रतिनिधित्व हुने भएकाले यसलाई उत्कृष्ठ नमुनाका रुपमा लिनुपर्छ। यो समयको माग पनि हो। कांग्रेसप्रिति आस्थावान धेरै सदस्य र सबै वर्ग भएकाले पनि यस्तो विधान बनाउनु बाध्यता हो। केन्द्रीय समिति ठूलो भयो भन्ने आवाज पनि नउठेको होइन। अरु पार्टीको केन्द्रीय समिति हेर्नुहुन्छ भने जम्बो छ। केन्द्रीय समितिमा पनि एकले अर्कालाई चिन्ने अवस्था छैन। कांग्रेस त्यो अवस्थामा छैन।
कांग्रेसमा धेरैवटा गुट छन्, किन यति धेरै गुट बनाएर राजनीति गर्नुपरेको होला ? गुटले पार्टीलाई कमजोर बनाउने होइन र ?
कांग्रेसमा कुनै पनि हालतमा गुटको अन्त्य हुँदैन। र यो कल्पना पनि गर्न सकिँदैन। सबै नेता र कार्यकर्तालाई कुनै नेताले संरक्षण गर्न नसक्ने भएकाले बाध्यताले कोही न कोहीसँग सहकार्य गर्नुपर्ने अवस्था हो। आफ्नो अस्तित्व बचाउन र टिकाउन पनि कुनै समूहसँग लाग्नु बाध्यता भएको छ। गुटले पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने मेरोजस्तै सबैको मान्यता हो। आखिर जुनसुकै गुटमा लागे पनि ती सबै कांग्रेसी नै त हुन् नि। अहिले कांग्रेसमा ४–५ वटा गुट छन् भनिन्छ। महाधिवेशनसम्म आइपुग्दा दुइवटा समूहमात्र हुन्छ किनभने महाधिवेशनमा सभापति जित्न ५० प्रतिशत मत कटाउनुपर्ने भएकाले पनि अन्तिमसम्म आइपुग्दा त्यो व्यवस्थापन हुन्छ।
सभापति शेरबहादुर देउवाको यो कार्यकाल सफल कि असफल ?
विगतलाई हेरेर समिक्षा गर्न, विगतलाई हेरेरसमिक्षा गर्नैपर्ने हुन्छ। हिजोको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले किन यस्तो पराजय भोग्नुपर्यो भन्ने विषय पनि मुख्य हो। नेकपा मिले अनि हामीले हार्यौं मात्र भनेर अब पुग्दैन। उनीहरु मिलेका थिए, त्यो थाहा थियो। तर हामीले त्यसलाई जित्ने गरी किन योजना बनाउन सकेनौं? यो विषय पनि खोजी हुनुपर्छ। आगामी दिनमा कांग्रेसले आफूलाई पहिलो पार्टी बनाउने गरी काम गर्नुपर्ने छ। कांग्रेसको विधानले पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यकाल ४ वर्षको भन्ने प्रष्ट लेखेको छ। कुनै विशेष कारण भए एक वर्ष कार्यकाल थप्न सकिन्छ। यो थप्ने पनि कारण चाहिन्छ। तर अहिलेसम्म प्राय: सबै नेतृत्वले यसलाई सुविधाका रुपमा प्रयोग गर्दै आएका छन्। देउवाका कारणमात्र महाधिवेशन नभएको भनेर आरोप लगाउन मिल्दैन। केन्द्रीय समितिका सबै सदस्यको पनि यसमा सहभागिता छ। पहिले महाधिवेशन गर्न चासो दिइएन। पछि चासो दिएजस्तो देखियो। तर परिस्थिति हाम्रो पक्षमा भएन, कोरोनाको कारणले। हिजो जे जे भयो त्यसमा धेरै छलफल नगरी अब सबैले एकमत दिएर महाधिवेशन गर्नेतिर लाग्नुमा नै सबैको हित हुन्छ।
कांग्रेसको नेतृत्वमा सरकार बनेको छ, यसलाई पनि धेरैले शंका गरेका छन् सरकारले जनताको मन जित्न के गर्नुपर्ला ?
सरकारले धेरै काम गर्नु पर्दैन्। संविधान र विधिलाई नमिची काम गर्यो भने कसैले पनि आलोचना गर्दैन। यसअघि कम्युनिष्टलाई जनताले पत्याएर मतदान गरेका थिए। उनीहरुले जनादेशमाथि प्रहार गरेको प्रष्ट छ। अब कम्युनिष्टहरु कहिल्यै पनि माथि नउठ्ने गरी कमजोर भएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको एकलौटी शैलीको बारेमा अब जनताले बुझिसकेका छन्। हिजो कम्युनिष्टले ढाँटेर मत ल्याए अब कोही पनि झुक्किनेवाला छैन। हिजो सरकार अस्थिर भयो। विकास र समृद्धि भएन भनेर कम्युनिष्टले भने। जनताले पनि होला भने, तर परिणाम ठिक उल्टो आयो।
कोरोना संक्रमणको त्रास बढेकाले सरकारले सबैभन्दा पहिले सबै नागरिकलाई खोप लाउनुपर्छ। खोप ल्याउँछु भनेर मात्र भएन नागरिकले सरकार भएको महसुश गर्न पाउनुपर्छ। सरकारले शिक्षा र स्वास्थ्यमा विशेष चासो देखाउनुपर्छ। सकेसम्म यी दुई विषयलाई नि:शुल्क गर्नुपर्छ। यदी त्यो सम्भव नभएसम्म सर्वसुलभ दरमा नागरिकले पढ्न र सेवा लिन पाउनुपर्छ। कांग्रेसलाई सबैले पत्याएको हुँदा सरकारले पनि जनतालाई पत्याउनुपर्छ। अब कांग्रेस नै देशको एकमात्र विकल्प हो भन्ने महसुश गराउनुपर्छ सरकारले। अहिले गरेको कामले आगामी निर्वाचनमा पनि कांग्रेसलाई फाइदा हुने छ।
मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन, कांग्रेसले मन्त्री छनौट मापदण्ड के बनाउनुपर्छ ?
मन्त्री बनाइएको विषयमा पनि पछिल्लो समयमा केही विवाद भयो। पार्टीमा बसेर काम गरेका भन्दा पनि कुनै व्यवसायमा सफल भएकालाई मन्त्रीको जिम्मेवारी दिएको भनियो। यसमा पनि गम्भीर समिक्षा गर्नुपर्छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ शिक्षा क्षेत्रमा सफल भएका हुन्। उनको ज्ञानले मन्त्री हुँदा राम्रो काम भयो भने आलोचना गर्नुको अर्थ छैन। पार्टीका सिपाहीलाई पनि अवसर दिनुपर्छ। र अरुलाई पनि समेट्नु अहिलेको आवश्यकता हो। २००७ सालमा विपी कोइरालाले जनताको गाँस, बास र कपासको विषय उठाएका थिए। हामी अहिले पनि यही कुरालाई प्राथमिकता दिइरहेका छौँ। र यसैका लागि संघर्ष गरिरहेका छौं। यो दु:खद् पाटो हो। समयको परिवर्तनसँगै हामी पनि आन्तरिक रुपमा सुध्रिएर र परिष्कृत हुँदै जानुपर्छ। यो सरकार जनताको हो भन्ने बुझाउन सरकारले सबै प्रयत्न गर्नुपर्छ। केपी ओलीको एमालेबाहेक अरु सबैको साझा सरकार भएकाले पनि जनताले धेरै आशा गरेका छन्। सरकारले त्यो भावनालाई सम्बोधन गर्ने तत्परता देखाउनु नै आजको आवश्यकता हो।