अर्को निर्वाचन नभएसम्म म नै प्रधानमन्त्रीः ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचन नभएसम्म आफू नै प्रधानमन्त्री रहिरहने दाबी गर्नुभएको छ । आगामी निर्वाचनसम्म आफूलाई पदबाट हटाउन नसकिने संकेत गर्दै उहाँले धैर्य गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले अर्को निर्वाचन पछि आफुलाई पनि पदमा बस्ने इच्छा नभएको बताउनुभयो । पार्टी एकताका बेला प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

यस्तै, प्रधानन्त्री ओलीले राजतन्त्र फर्काउँछौं भन्नेहरु बेमौसमको बाजा भएको बताउनुभएको छ । उहाँले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको टिप्पणी गर्दै यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको बताउनुभएको छ ।

ओलीले द्वन्द्वकालीन मुद्दासम्बन्धी विषय टुंग्याउन बनाइएका दुई आयोग यसै हप्ताभित्र गठन हुने दाबी गर्नुभएको छ । उहाँले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै हप्तामा पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले समितिबाट नाम सिफारिस हुने बित्तिकै आयोग गठन हुने र काम प्रारम्भ हुने कुरामा ढुक्क रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको आरोप पनि लगाउनुभयो ।

उहाँले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सैह्य नहुने चेतावनी पनि दिनुभएको छ ।