प्रधानमन्त्री ओलीको स्वास्थ्य ठीक छ: प्रमुख राजनीतिक सल्लाहकार रिमाल



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । सिंगापुरमा उपचार गरेर सोमबार मात्रै स्वदेश फर्किनु भएका उहाको स्वास्थ्यमा समस्या देखिएको हो ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि हिजोको नेकपा सचिवालय बैठक समेत स्थगित गरिएको थियो । हिजो स्थगित सचिवालय बैठक आज दिउसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने प्रधामन्त्रीको स्वास्थ्य ठीक रहेको बताएका छन् ।

रिमालले ट्विट गर्दै भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो । जसका कारण सचिवालय बैठक एक दिनका लागि स्थगित भयो।

यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ । उहॉ बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ।’ रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद पनि दिएका छन् ।