एनसेल लाभकर विवादमा आज पनि भएन फैसला, भदौ ५ गतेका लागि सारियो



निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल लाभकर विवादमा दोस्रो पटक फैसला मिति सरेको छ । आज हुने भनिएको फैसला सर्वोच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै भदौ ५ गतेका लागि सारिएको छ ।

यसअघि २१ गते तोकिएको फैसला मिति सारेर आजका लागि तोकिएको थियो । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको क्रममा छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकार अन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन रहेको थियो । एनसेलले लाभकर छुट हुनुपर्ने दाबी गरेको मुद्दा सर्वोच्चका पाँच न्यायाधीशले पुनः सुनुवाइ गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित ५ न्यायाधीशहरूको बृहत् पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो । सो फैसलापछि ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो ।

तर, एनसेलले करिब साढे १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि २०७६ बैसाख ९ मा सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो ।