हङकङ आन्दोलन दबाउन चीनद्वारा सीमामा सैन्य शक्ति प्रदर्शन



लोकतन्त्रको समर्थनमा जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा चीनले प्रदर्शन दबाउनका लागि हङकङमा सैनिक आक्रमण गर्ने सङ्केत दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले युद्धका लागि तम्तयार चिनियाँ जनमुक्ती सेना हङकङतर्फ लागेको जनाएका छन् ।

हङकङस्थित चिनियाँ जनमुक्ती सेनाको ब्यारेकमा रहेका आठदेखि दशहजार सैनिक पनि उच्च सतर्कतामा राखिएको बताइएको छ ।यसअघि मंगलबार चीनको राज्यनियन्त्रित सञ्चारमाध्यमले एक भिडियो सार्वजनिक गरेको थियो ।

ग्लोबल टाइम्स अखबारको अनलाइन संस्करणले हङकङसँग सीमा जोडिएको सेन्जेन शहरमा जनमुक्ती सेनाले बख्तरबन्द गाडीसहित अभ्यास गरिरहेको भिडियो सार्वजनिक गरेको हो ।

हङकङको सीमा क्षेत्रमा रहेको सेन्जेन शहरमा जनमुक्ती सेनाले अर्बन वारफेयर अर्थात् शहरी क्षेत्रमा युद्धकलाको अभ्यास गरेको थियो । चीनले हङकङतर्फ सेना तैनाथ गरेपछि हङ्कङमा सैनिक आक्रमणको चिन्ता उत्पन्न भएको हो ।

प्रदर्शनकारीले हङ्कङको विमानस्थलमा प्रवेश गरी दुई दिनसम्म सयौं उडान तथा अवतरण अवरुद्ध गरेपछि चीनले सैनिक आक्रमणको तयारी गरिरहेको समाचार सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी गुप्तचर निकायले आफूलाई चीनले हङकङको सीमा क्षेत्रमा सैनिक उपस्थिती बढाइरहेको जानकारी दिएको जनाएका छन् ।