प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताइएको छ । अहिलेसम्म राजीनामा स्वीकृत भने भएको छैन ।
तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ मा विजय हासिल गरेका यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाउनुभएको हो । यादवले राजीनामा दिने सम्बन्धमा पार्टीमा भने कुनै छलफल नभएको बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ । यादवको राजीनामा स्वीकृत भए रिक्त स्थानमा उपनिर्वाचन हुनेछ ।
सरकारले मंसिर १४ गते उपनिर्वाचनका लागि मिति तोकिसकेको छ ।
यसै बिच राजीनामा फिर्ता लिन समाजवादी पार्टी नेपालले यादवलाई आग्रह गरेको छ । सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वा्चित यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामाको निवेदन दिनु भएको थियो ।
यादवको राजीनामा सभामुखसमक्ष आएको तर स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो । राजीनामाका बारेमा सभामुखले समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग समेत छलफल गर्नु भएको छ ।