आज अन्तर्राष्ट्रिय युवा दिवस, विविध कार्यक्रम गरी मनाईँदै



काठमाडौं, साउन । अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि सोमबार विविध कार्यक्रम गरी मनाईँदै छ । नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउने गरिएको छ । सोमबार विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवा दिवस मनाइँदैछ । ने

पालमा युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको भए पनि अहिले सरकारले आफैले दिवस मनाउन थालेको छ । दिवस मनाए पनि युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता क्षेत्रमा काम हुन सकेको देखिँदैन ।

युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यसैगरी नेपाल सरकारको १३ औँ योजनाको आधारपत्रमा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार तथा आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तिकरण गर्ने रणनीति तय गरिएको छ ।

युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकूद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् ।

नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पुर्‍याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित दश वर्षे रणनीतिक योजना’ ल्याएको छ । यसैगरी युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार बोर्ड गठन गरिएको छ ।

परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले युवाका मुद्दालाई सम्बोधन गर्नका लागि सरकार सकारात्मक दिशातर्फ बढेको बताए । यसैगरी परिषदले ९० स्थानीय तहमा नमूना युवा संसद् गठन तथा अभ्यास र ७७ स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लबसमेत गठन गरेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । अहिले युवाको विदेश जाने सङ्ख्या केही घटेको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्कबाट वार्षिक पाँच लाख ३८ हजार युवा विदेश जाने गरेकोमा अहिले यो संख्या तीन लाख २३ हजारमा झरेको छ ।

यीमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल दुई प्रतिशत मात्र दक्ष जनशक्तिका रूपमा रहेका छन् । युवाका क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७औँ नम्बरमा रहेको छ । १९.२ प्रतिशत युवा पूर्ण बेरोजगार रहेका, कृषिमा युवाको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नुपरेको अवस्था विद्यमान छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।