पटक पटक स्थगित हुदै बस्दै आएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज फेरी बस्नेगरी बोलाइएको छ । केही दिन अघिका लागि तय गरेरपनि स्थगित गरी आज बोलाइएको बैठक दिउसो २ बजे पार्टी काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
गत असार २२ गतेदेखि सुरु भएको बैठकमा १४ बुँदा छलफलका लागि तोकिएको भएपनि अहिलेसम्म कुनै विषयमा ठोस निर्णय हुन सकेको छैन । पार्टीको अन्तरिम संरचना निर्माण र नियमावलीको विषयमा बैठकमा लामो समय छलफल भएको थियो भने पछिल्लो समय तत्कालिन फोरमसँग पार्टी समायोजनका बेला भएको सहमती कार्यान्वयनका बारेमा छलफल भएको थियो ।
बैठकमा आज अन्तरिम संरचना सहमतिबाट गठन गर्नका लागि बनाईने निर्देशिकाका बारेमा छलफल हुने केन्द्रीय सदस्य डा डिला संग्रौलाले जानकारी दिनुभयो । निर्देशिकाको मस्यौदालाई अन्तिरम रुप दिन हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीहरुको बैठक बसेको थियो भने अहिले पनि नेताहरुले आन्तरिक छलफल गरिरहेका छन् ।
नेताहरूले समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसका नेतृत्व सहमतिबाट टुंगो लगाउने समझदारी गरेका छन् । भूगोल, जनसंख्या, वरिष्ठतासहितका विकल्पलाई आधार बनाएर नेतृत्व चयन गर्ने नेताहरूबीच समझदारी बनेको छ । आजको बैठक अन्तरिम संरचना गठन निर्देशिकामै केन्द्रीत हुने भएकाले अन्य एजेण्डामा छलफल हुने संभावना कम रहेको डा संग्रौलाले बताउनु भयो ।