भारतीय कांग्रेस: राहुल गान्धीको राजीनामा स्वीकृत, अन्तरिम अध्यक्षमा सोनिया



नयाँ दिल्ली- शनिबार अबेर सकिएको भारतीय कांग्रेस कार्यसमिति बैठकबाट सोनिया गान्धी अन्तरिम अध्यक्ष चुनिएकी छिन्।

कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठक सकिए लगत्तै जानकारी दिँदै सोनियालाई अन्तरिम अध्यक्ष चुनिएको र अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा समेत स्वीकृत गरिएको छ।

बैठकपछि कांग्रेस महासचिव वेणुगोपाल र पार्टी प्रवक्ता रणदीप सुरजेवालाका अनुसार शनिबार नै बसेको कांग्रेस कार्यसमितिको दोस्रो बैठकले ३ प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको जनाएका छन्। पहिलो प्रस्तावमा राहुलले महत्वपूर्ण समयमा पार्टीको नेतृत्व गरेकोमा धन्यवाद दिँदै लोकसभा चुनावमा मिलेको हारको नैतिक जिम्मेवारी लिँदै मे २५ मा दिएको राजीनामा स्वीकृत गरिएको छ।

सँगसँगै उनलाई आगामी दिनमा पनि पार्टीको नेतृत्वमा रही सही बाटो देखाउन पनि आग्रह गरिएको छ। प्रदेश नेताहरुले राहुललाई नै नेतृत्वमा रहिरहन आग्रह गरेका थिए। तर, राहुलले भने आफू पार्टी अध्यक्षमा रहिरहन नसक्ने स्पष्ट पारेका थिए।

तर, राहुलले पार्टी अध्यक्षमा नबस्ने जनाएपछि बैठकले पार्टीको पूर्णकालीन अध्यक्ष चयन नहुँदासम्म सोनियालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको जनाइएको छ। जम्मू(काश्मीरको विषयमा समेत बैठकले एक प्रस्ताव पारित गरेको छ।

सो प्रस्तावमा विपक्षी पार्टीअन्तर्गत एक दलका प्रतिनिधि टोलीलाई त्यहाँको अवस्था अवलोकनका लागि जम्मू(काश्मीर जाने वातावरण बनाउन सरकारलाई आग्रह गर्ने उल्लेख छ।