नेपाल ट्रस्टको जग्गा सशस्त्रको कब्जामा



काठमाडौं – निर्मल निवास ९पूर्वराजा ज्ञानेन्द्र शाह० को सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी नेपाल ट्रस्टको जग्गा कब्जा गरेर बसेको छ । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको जग्गा तथा सम्पत्तिको अनुगमन गर्ने क्रममा यो तथ्य फेला परेको हो ।

काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित घरसहितको १ रोपनी ६ आना १ दाम जग्गा सशस्त्रले ओगटेर बसेको छ । कित्ता नम्बर १५ मा रहेको यो जग्गा नेपाल ट्रस्टको नाममा छ । त्यस ठाउँमा सशस्त्र प्रहरी निर्मल निवासको सुरक्षार्थ बसेको हो ।

नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ बसेको सशस्त्रले ओगटेको त्यो जग्गासहित काठमाडौं विभिन्न स्थानमा ट्रस्टको जग्गाको अनुगमन गरेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ – लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक बसेको ६ रोपनी १३ आना १ दाम जग्गा पनि ट्रस्टकै हो । सन् २००५ देखि बैंक त्यहाँ बसिरहेको छ । १५ वर्षका लागि बैंकले जग्गा लिजमा लिएको छ ।

वार्षिक १ करोड भाडा तिर्छ । नारायणहिटी दरबारको अगाडिको काठमाडौं–१ स्थित थामसेर्कु ट्रेडिङले ३० वर्षका लागि लिजमा लिएको जग्गामा निर्माणाधीन भवनको पनि अनुगमन गरिएको छ ।

मन्त्री पोखरेलले काठमाडौं–१३ सोल्टीमोडमा ४ सय ३ रोपनीको पनि अनुगमन गरेका छन् । त्यहाँ गरीबी निवारण कोष, वैदेशिक रोजगार विभाग कार्यालय ट्रस्टकै जग्गामा छ ।

छाउनीमा रहेको पूर्वअधिराजकुमारी प्ररेणा शाहले कब्जा गरेको १५ रोपनी १ आना, काठमाडौं–१२ टेकुको १९ रोपनी १२ आनामा रहेको बिजनेस पार्कको अनुगमन निरीक्षण मन्त्री पोखरेलले गरेका छन् । २०५३ सालमा यो पार्क पनि ३० वर्षका लागि लिजमा दिइएको थियो । उसले वार्षिक ४० लाख बुझाउँदै आएको छ ।

गोकर्णेश्वर–४ माकलवारी क्षेत्रमा रहेको ट्रस्टको जग्गामा गोकर्ण फरेस्ट रिसोर्ट छ । रिसोर्टले २ हजार ९ सय ७१ रोपनी ६ आना जग्गा लिजमा लिएको छ । सन् १९९५ मा ३० वर्षको लिजमा लिएको हो । २ लाख ४० हजार अमेरिकी डलर वार्षिक भाडा तिर्छ ।

मन्त्री पोखरेलले माकलबारीका बासिन्दाले ट्रस्टको जग्गाबाट आएको पानीले दुःख दिएको गुनासो गरेपछि ढल बनाइदिने प्रतिबद्धता जनाएका छन् । अनुगमनमा शिवपुरीबाट आउने पानीले त्यहाँ ४ सय घरपरिवार प्रभावित हुने गरेको दाबी छ । उनले ट्रस्टको जग्गा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा पारदर्शी ढंगले उपयोग गरिने बताएका छन् ।

भूमाफिया र बिचौलियाको प्रभावमा ट्रस्ट ऐन

बिचौलिया र भूमाफियाको ग्रान्ड डिजाइनमा नेपाल ट्रस्ट ऐन संशोधन गरिएको छ । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति संरक्षण गर्न स्थापित ट्रस्टको ऐन संशोधनपछि संशय पैदा भएको छ ।

पूर्वप्रशासक खेमराज रेग्मी ट्रस्ट स्थापनाको भावनाविपरीत ऐन संशोधन गरिएको बताए। नेपाल ट्रस्ट ऐन २०६४ मा स्वास्थ्य र शिक्षा क्षेत्रमा वीरेन्द्र र उनको परिवारको सम्पत्ति उपयोग गर्ने उल्लेख छ ।

तर नयाँ संशोधित ऐनमा राष्ट्रिय हित अनुकूल तथा ट्रस्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यवसायिक कार्य सञ्चालन गर्न पाउने थप व्यवस्था गरिएको छ । ट्रस्टको सम्पत्ति कुनै व्यक्ति वा संस्थालाई ट्रस्टको सिफारिसमा सरकारले निश्चित अवधिका लागि लिजमा दिन सक्ने व्यवस्था गरिएको छ ।

‘यो नीतिगत भ्रष्टाचारको चरम नमूना हो,’ उनले भने, भूमाफिया र बिचौलियाको डिजाइनमा कौडीका मूल्यमा त्यो सम्पत्तिमाथि कब्जा गर्ने भए ।’ वीरेन्द्रले लिजमा दिएको अवधि सकिनै लागेकाले यो ऐन आएको हो । ‘३० वर्षको लिजमा लिएको छ, अब म्याद सकिनै लागेका छन् । म्याद सकिनुअघि नै म्याद थप्न सकिने व्यवस्था गरिएको छ,’ उनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।