त्रिशुली बस दुर्घटना: ४ जनाको ज्यान गयो, १६ जना घाइते, दर्जनौ हराईरहेको आशंका

हराउनेको संख्या यकिन भएको छैन्


सलार्हीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस त्रिशुलीमा खसेको छ । मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस आज बिहान धादिङमा दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बिहान ३ः३० बजे धादिङको  बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना हुदा १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको जनाइएको छ ।

धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरे । थप एक जनाको पनि ज्यान गएको जनाइएको छ । यो संगै मृतकको संख्या ४ पुगेको हो ।मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बसमा ठ्याक्कै यति नै यात्रु थिए भन्ने खुलेको छैन् । हराउनेको संख्या पनि यकिन भएको छैन् ।

डुबेको बस तानेर हराइरहेकाहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको जनाइएको छ ।