सडक निर्माणमा लापरबाही



मोरङ — निर्माण कम्पनीले सिसबनी जहदा चक्रपथ सडकको निर्माण समयमा सम्पन्न नगर्दा सीमावर्ती गाउँका बासिन्दालाई समस्या परेको छ । निर्माण कम्पनीले सडकमा हालेको माटो र सडक छेउ खनेको नालाले सवारीसाधन आउजाउमा कठिनाइ छ ।

माटो हाले पनि नसम्याएइकाले पैदलयात्रीलाई समेत समस्या भएको स्थानीयले बताएका छन् । ३ महिनादेखि किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बजार पुर्‍याउन नसकेकोस्थानीय वीरेन्द्र मण्डलले बताए ।

उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय विराटनगरले रामा बिलडर्स प्रालि राजविराज ४, सप्तरीलाई गत वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिएको थियो । तर आव समाप्त भइसक्दा पनि निर्माण कम्पनीले काम गरेको छैन ।

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयमा ०७५ चैत २८ गतेको सम्झौता अनुसार ०७६ असार १५ गते ७ सय ६० मिटर सडक ग्रोभेल गरी कालोपत्रे, नाला र दुईवटा ह्युमपाइप कलभर्ट निर्माणसमेत गरिसक्नु पर्ने थियो ।

वडा कार्यालयले सडकको मापदण्ड पूरा गर्न सडकमा परेको स्थानीयको घरभत्कायो । निर्माण कम्पनीले घर भत्काएरको ठाउँमा ५र७ फिट नाला निर्माणका लागि खनेर छोडेपछि वर्षामा पानी जमेर समस्या भएको स्थानीयबासीको गुनासो छ । यस्तै, रंगेली सडक–रामचोक–सिसबनी जहदा नहर हुँदै भारत सीमासम्म ९ किलोमिटर सडकको काम पनि समयमा नगरेकाले हिलाम्मे भएको छ ।

निर्माण कम्पनीले सडकमा माटो भरेर ग्रोभेल नहाल्दा हिलाम्मे भएको जहदा ४ मुखियाटोलका रमानन्द मण्डलले गुनासो पोखे । ‘हिलोले सडकमा हिंड्न सक्नेसमेत अवस्था छैन,’ उनले भने, ‘वर्षा सुरु भएदेखि घरबाट कसैले पनि मोटरसाइकल निकाल्न पाएका छैनन् ।’ सडक डिभिजन कार्यालय विराटनगरबाट उक्त सडक १२ करोड २२ लाख ८७ हजार ५ सय ६९ रुपैयाँमा भूमि इन्फास्ट्रक्चर विराटनगरले ठेक्का लिएको हो ।

उक्त कन्स्ट्रक्सनले भारतीय सीमादेखि सौठासम्म ११ मिटर चौडाई भएको १२ दशमलव ५ किलोमिटर सडक निर्माणका लागि २६ करोड ९४ लाख २१ हजार ६ सय ४० रुपैयाँमा ठेक्का लिएको छ । सडक डिभिजनमा ०७४ असार २६ गते सम्झौता गरी ०७४ भदौ ९ गते कार्यादेश प्राप्त गरेको भए पनि हालसम्म पूरा गर्न सकेको छैन ।

यस्तै नोचा–मझारे बोर्डरसम्म ७ किलोमिटर ८ करोड ७० लाख ५५ हजार ६ सय १८ रुपैयाँ र कटहरी–मझारे बोर्डरसम्म ५ किलोमिटर ६ करोड २१ लख २९ हजार ९ सयमा रमनरभूमि जेभि विराटनगरले गत वर्षको जेठमा ठेक्का लिई काम अघि बढाए पनि पूरा गर्न सकेको छैन । कर्सिया–भारत सीमासम्म पनि ९ किलोमिटर १० करोड ८६ लाख ५७ हजार रुपैयाँमा ठेक्का लिएको छ ।

उक्त चारवटा सडकमध्ये तीनवटाको २०७७ साउन र नोचा–भारत सीमा सडकको २०७७ चैत २९ गतेसम्म काम सम्पन्न गर्ने म्याद छ । मोरङमा मात्रै भूमि कन्स्ट्रक्सनले सडक तथा पुल र कल्भर्ट गरी १४ वटा योजनो ठेक्का लिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।