मेघ गर्जनसहित वर्षा र चट्याङ्ग पर्ने सम्भावना कुन क्षेत्रमा ?

राति पनि चट्याङ्ग पर्ने सम्भावना


काठमाडौं । देशका धेरै स्थानको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका धेरैजसो स्थानमा सामान्य बदली हुने र केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पनि चट्याङ्ग पर्ने सम्भावना रहेको छ। हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

पूर्वी भू–भागका थोरै र पश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वका केही क्षेत्रमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको जनाइएको छ । मनसुन अहिले नेपालमा कम सक्रिय अवस्थामा रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन्।