सन्दीपको टिम टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल क्रिकेटको प्ले अफमा



काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने रहेको टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्ले अफमा पुगेको हो ।सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १९० रनको लक्ष्य पछ्याएको मोन्टरियलले १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र  बनाउन सक्यो ।मोन्टरियलका म्याथ्यु क्रसले सर्वाधिक ३९ रन जोड्दा दिनेश चण्डीमालले ३६ रन बनाए ।

त्यस्तै केली कोट्जरले १८ र निखिल दत्तले १२ रन जोड्नु बाहेक मोन्टरियलका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मोन्टरियललाई सस्तैमा रोक्न टोरन्टोका मिचेल मेग्क्लेनघन र कृष ग्रीनले ३/३ विकेट लिए । यस्तै जेरोमी गार्डोनले २ विकेट लिँदा सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । टोरन्टोका लागि  रोड्रिगो थोमसले ७० तथा हेन्रीच क्लासेनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । मोन्टरियलका थिसरा परेराले २ विकेट लिए ।

जितसँगै टोरन्टो लिगको तेस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो । टोरन्टोले ६ खेलमा ६ अंक जोड्यो  । ६ खेलमा ५ अंक जोडेको मोन्टरियल बाहिरिएको छ । अब टोरन्टोले इलिमिनेटरमा अर्का नेपाली खेलाडी सोमपाल कामी रहेको वेनिपेग होक्ससँग खेल्नेछ । होक्स तालिकाको चौंथो स्थानमा रहेर प्ले अफ पुगेको हो ।