पूर्व राजा ज्ञानेन्द्रले थाइल्याण्डलाई ‘ट्रान्जिट’ बनाएर विभिन्न देशको भ्रमण गर्ने



पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ साउन २४ गते शुक्रवार थाइल्याण्डको बैंकक जान लागेका हुन् । उनको भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ ।

विभिन्न सामाजिक सञ्जालमा राजावादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन् । उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने भएकी छन् । पूर्व युवराज्ञी हिमानी शाह बुधवार २ छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी छन् । अधिकांश भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् ।

दशैंको केही दिनअघि मात्र फर्कने गरी पूर्व राजाको परिवार थाइल्याण्ड जान लागेको हो । करीब ३ साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका ज्ञानेन्द्रले थाइल्याण्डलाई ‘ट्रान्जिट’ बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन् ।

उच्च स्रोतका अनुसार पछिल्लो समय ज्ञानेन्द्रको अधिकांश भ्रमण थाइल्याण्ड मात्र हुने गरेको छ । ‘नेपालबाट अन्य मुलुक जाँदा हल्ला हुने भएकाले नातिनीहरूको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको छ,’ स्रोतले भन्यो ।

पूर्वराजा ज्ञानेन्द्र वर्षमा २ पटकभन्दा बढी थाइल्याड जाने गर्छन् । उनी यसपालि अपार्टमेन्टमा बस्ने गरी थाइल्याण्ड जान लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैंअघि थाइल्याण्ड गएका थिए । नेपाल रहँदा पनि गत वर्ष पूर्व, तराई, पश्चिम, मध्यपश्चिम, सुदूरपश्चिम र मध्यमाञ्चलका विभिन्न जिल्ला भ्रमण गरी उनले स्थानीय राजावादीसँग भेट गरेका थिए ।

भ्रमणमा निजी सुरक्षाकर्मी सशस्त्रका डीएसपी र केही कामदारबाहेक अरुलाई सहभागी गराइने छैन । लामो समयदेखि हिमानी सँगसँगै नबसेका पूर्व युवराज पारस भने नेपालमै रहनेछन् । त्यहाँबाट फर्केपछि उनी नेपालमै रहँदै आएका छन् ।

पूर्व युवराज्ञी हिमानी भने ३ वर्ष अघिदेखि २ छोरीको उच्च शिक्षा अध्ययन गराउन अधिकांश समय थाइल्याडमै बस्ने गरेकी छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।