प्रदेशले एक स्टेप अगाडि बढेर काम गर्न नखोजोस्: मन्त्री बाँस्कोटा



काठमाडौं । सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफ्नो अधिकार क्षेत्रभित्र बसेर काम गर्न प्रदेश सरकारहरुलाई सुझाव दिनु भएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले अधिकारक्षेत्रका बिषयमा सबै संविधानमा स्पष्ट व्यवस्था गरिएको भन्दै प्रदेश सरकारले एक स्टेप अगाडि बढेर काम गर्न नखोज्न बताउनु भयो ।

उहाले बर्तमान सरकार ५ वर्षसम्म परिवर्तन नहुने ठोकुवा गर्दै वर्तमान सरकारले प्रगति, सामाजिक न्याय र अग्रगतिलाई विशेष मुद्दा बनाइसकेका कारण अबको ५ वर्षसम्म सरकारले विकासलाई नै मुख्य केन्द्र बनाएर अघि बढ्ने समेत बताउनु भयो ।

मन्त्री बाँस्कोटाले यो सरकार स्थायी सरकार भएको जिकिर गर्दै संघ, प्रदेश र स्थानीय सरकारले चुनावमा गरेको वाचा अब पूरा गर्नुपर्ने बेला आएको स्मरण गर्नुभयो । बाँस्कोटाले श्रम, उत्पादन, रोजगारी, कृषिलगायत सबै क्षेत्रमा गति र मानक पैदा गर्नुपर्ने बेला आएको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको जिकिर गर्नुभयो ।