प्रतिनिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

कांग्रेस प्रतिष्ठाको विषयमा चिन्ता नलिन आग्रह


काठमाडौँ । प्रतिनिनिधिसभाको शून्य समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच आरोप प्रत्यारोप चलेको छ ।

सत्तारुढ दलका सांसद नवराज सिलवालले प्रमुख प्रतिपक्षी कांग्रेसले २६ दिनसम्म सदन अवरुद्ध पारेर जनताका आवाज रोकेको बताएपछि कांग्रेस सांसद उनीविरुद्ध खनिएका हुन् । शून्य समयमा बोल्दै सांसद सिलवालले अनाहकमा कांग्रेसले २६ दिनसम्म सदन अवरुद्ध गरेको बताएका थिए । ‘२६ दिनसम्म कांग्रेसका कारणले संसद अवरुद्ध भयो । जनताका आवाज रोकिए ।

तथापि कांग्रेसको इज्जत जोगाउनका लागि सत्तापक्ष विशेष समिति बनाउन तयार भयो र सदन खुलायो । यो राम्रो कुरा हो तर अनावश्यक रुपमा सदन अवरुद्ध गर्नु कांग्रेसकै प्रतिष्ठाका लागि पनि राम्रो विषय होइन’, सदनमा सिलवालले भनेका थिए।

सिलवालले यस्तो बताएपछि कांग्रेस सांसद पुष्पा भुषालले जवाफ दिइन् । उनले कांग्रेसको प्रतिष्ठाको विषयमा चिन्ता नलिन आग्रह गरिन् । ‘कांग्रेसको प्रतिष्ठाका लागि तपाईहरुले चिन्ता लिनु पर्दैन, आफ्नै पार्टीको चिन्ता लिनुहोस् । तपाईहरुको पार्टी कार्यालय नै सरकारी कार्यालयमा रहेको कुरा आएको छ । सरकारी जग्गामा पार्टी कार्यालय नराखेर आफ्नै प्रतिष्ठा जोगाउन तिर लाग्नुहोस्’, भुषालले भनिन् ।

यस्तै कांग्रेस सांसद पार्वती बिसी चौधरीले पनि सांसद सिलवालको भनाईप्रति आपत्ति प्रकट गरिन् । ‘माननीय सदस्य एउटा पेसाबाट आउनुभो, संसदीय मर्यादा सिकिसक्नुभएको रहेनछ, अलि ख्याल गरे हुने’, चौधरीले भनिन् ।

विपक्षी दल नेपाली कांग्रेस र राजपाको फेस सेभिङका लागि संसदले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सात सदस्यीय अध्ययन तथा सुझाव संसदीय विशेष समिति सोमबार गठन गरेको थियो ।