संसद अवरोध हट्यो, नेम्वाङको नेतृत्वमा ७ सदस्यीय संसदीय विशेष समिति गठन

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको फेरि रुलिङ


काठमाडौँ । प्रतिपक्षदल कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका छन् ।आज बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको हो ।

सहमतीसंगै अवरुद्ध संसद सुचारु भएको छ । प्रतिनिधिसभाले नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा ७ सदस्यीय संसदीय विशेष समिति पनि गठन गरेको छ ।

प्रमुख प्रतिपक्षदल कांग्रेस र राजपाले गर्दै आएको संसद अवरुद्ध हटाउने क्रममा भएको सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन समिति बनेको हो ।

समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, विन्दा पाण्डे, कांग्रेस सचेतक पुष्पा भुसालका साथै मिनेन्द्र रिजाल, उमाशंकर अरगरिया र राजपाका लक्ष्मणलाल कर्ण सदस्य हुनुहुन्छ ।

यसैबिच सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि रुलिङ गर्नुभएको छ ।  मधेस तथा थरुहटमा भएका आन्दोलन र आन्दोलनका क्रममा भएको ज्यादतीको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुख कृष्ण बहादुर महराले आज फेरि रुलिङ गर्नुभयो ।

आजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले उक्त प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्नु भएको हो । त्यसपछि सभामुख महराले उक्त विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विशेष निर्देशन दिनु भएको हो ।

बैठक सुचारु भएपछि प्रतिनिधीसभामा बिभिन्न प्रतिवेदनहरु पनि पेश भएका छन् । प्रतिनिधि सभाको अर्को बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।