मंसिर १४ मा ३ वटै तहको उपनिर्वाचन गर्ने लगाएत मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ?

झुठो विवरण पेस गरी नागरिकता लिने ८ जनाको नागरिकता रद्द


काठमाडौँ । सरकारले मंसिर १४ मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो । साउन १६ गतेकोे मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको जानकारी दिनु भयो ।

संविधानअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई छ । तीन वटै तहका रिक्त ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगले सुझाव दिएको थियो । देशभर प्रतिनिधिसभा सदस्यमा १, प्रदेशसभा सदस्यमा ३, नगर प्रमुखमा १, गाउँपालिका अध्यक्षमा ३, गाउँपालिका उपाध्यक्षमा १ र वडाध्यक्षमा ४१ पदहरु रिक्त छन् ।

यसैबिच सरकारले झुठो विवरण पेस गरी नागरिकता लिने ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले झूठो विवरण पेस गरेर नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्ण गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनु भयो ।

यस्तै प्रधानमन्त्री केपी ओलीको उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली हिजो साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानु भएको छ । सञ्चारमन्त्री बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले बहोर्न जानकारी दिनुभयो ।

उहाले कर्मचारी बाहेक अरु कसैको टीएडीए स्वीकृत नगरिएको बताउदै प्लेन खर्च बाहेक अरु प्रधानमन्त्री ओलीकै निजी खर्च हुने जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्यलाभको कामना गरेको छ ।

यस्तै सरकारले सशस्त्रका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । एआईजी पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ । सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका एआईजी नारायण बाबु थापालाई पठाएको छ । प्रधान कार्यालयको मानव स्रोत विभागमा प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी रामशरण पौडेललाई पठाएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

यसैबिच सरकारले कञ्चनपुरमा प्रहरीको गोलीबाट घाइते भएका अर्जुन भण्डारीलाई मासिक २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
निर्मला पन्तका बलात्कारपछि हत्या भएकोमा दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भण्डारी घाइते भएका थिए । भण्डारीको अझै पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइराखेको छ ।

यस्तै मन्त्रीपरिषद्को बैठकले सार्वजनिक खरिद आठौं संशोधन नियामवली २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

यस्तै निवृतिभरण कोष स्थापना नभएसम्म लागि निवृत्तभरण कोष सञ्चालन गर्न कर्मचारी सञ्चय कोषलाई तोक्ने निर्णय पनि भएको छ । प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५ ७६ को तलबमान निर्धारण गर्ने निर्णय भएको छ ।

यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १६ ख बमोजिम मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी २०७५ पुस १३ देखि लागू हुने गरी एक वर्ष ६ महिना अवधिको लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरिएको छ ।

यसैबिच बिप्लब समुहसंग वार्ताको प्रयास भइरहेको सूचनाहरु आइरहेका बेला सरकारका प्रवक्ता समेत रहनु भएका बास्कोटाले हिंसा नछोड्नेसँग वार्ता नहुने बताउनु भएको छ । पत्रकारको जिज्ञासामा उहाले विप्लवले निन्द्रामा देखेको क्रान्तीको रुमानी सपना पुरा नहुने भन्दै हिंसा नत्यागे पुर्जा काटिने चेतावनी समेत दिनु भएको छ । उहाले विप्लव समूहलाई भड्किएको आत्माको उपनाम समेत दिदै सरकारले कुनै पनि हालतमा हिंसा रोक्ने र त्यसका लागि आफूलाई बलियो बनाउँदै गएको दावी गर्नुभयो ।

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको चर्को आलोचना भइरहेका बेला मन्त्री बास्कोटाले त्यो कार्यक्रम बाँधर धपाउन मात्रै लागु नगरिएको स्पष्ट पार्नु भएको छ । पत्रकारको जिज्ञासामा मन्त्री बास्कोटाले कतिपय स्थानमा बाँदरकै कारण मानिस बसाई सर्न बाध्य भएको भन्दै बाँदरबाट प्रभावित नभएकाले आलोचना मात्रै गरेको बताउनु भयो । फजुल खर्च भएर कसैलाई बाँडेको नभई आवश्यकता अनुसार विकास गर्न कार्यक्रम लागु गरेको उहाको भनाई छ । सरकारले यो कार्यक्रममार्फत बालुवामा पानी नहालेको भन्दै उहाले मानिसलाई आवश्यक रोजगार दिलाएर प्रोत्साहित गरेको बताउनु भयो ।