शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने



देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै शनिबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति केही ठाउँमा चट्याङ्ग पनि पर्न सक्ने भएकाले सर्तक रहन आग्रह गरिएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ र पूर्व तथा मध्य क्षेत्रका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

मनसुनी न्यून चापीय रेखा हाल तराई भू–भाग भन्दा दक्षिणतिर रहेको र नेपाल तर्फ सर्दै गरेको अवस्थामा छ । केही दिनभित्र सो रेखा नेपालतिर आएपछि अहिले कमजोर अवस्थामा रहेको मनसुन पुनः सक्रिय हुनेछ ।