डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ



काठमाडौंको दरबार मार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्।

इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । मनोजले विश्वराम श्रेष्ठसँग लिएको २ करोड रुपैयाँ तिर्न भनेर दिएको चेक बाउन्स भएको थियो ।

चेक बाउन्स भएपछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा उजुरी दिएका थिए । विश्वरामको उजुरीपश्चात् श्रेष्ठ फरार भएका थिए ।फरार श्रेष्ठलाई पक्राउ गर्न गत माघ १५ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको थियो ।

इन्टरपोल माइन्ट डिभाइसका आधारमा उनी सोमबार पक्राउ परेका हुन् । कारबाहीका लागि श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हङकङबाट क्याथे ड्रागनको उडानमार्फत नेपाल आएका उनलाई पक्राउ गरिएको हो ।