जंगली च्याउ खाँदा एकै घरका तीन जनाको मृत्यु, जथाभावी च्याउ नखान विज्ञको सुझाव 



रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको लुङग्री गाउँपालिका ६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुले गत साउन ८ गते विषालु च्याउ खाएर गम्भीर बिरामी भएका थिए । त्यसपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उपचारका क्रममा छोरा पुष्करको साउन ११ गते, छोरी सुनिताको १२ गते र आमा फुर्मलीको सोमबार बिहान मृत्यु भएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  डाक्टरहरुले जथाभावि च्याउ नखान सुझाव दिएका छन् ।

नाम सुनिरहेका बाहेक अन्य च्याउ नखान डाक्टरहरुले आग्रह गरेका छन् । जंगलमा पाईने च्याउ हेर्ने वित्तिकै विषालु हो या होईन भन्ने थाहा नपाउने भएकाले जुनसुकै च्याउ नखान उनीहरुले आग्रह गरेका हुन् ।

परीक्षणपछि मात्र खान योग्य हो कि होईन भन्ने थाहा पाउने भएकाले यो कुरामा सबै जना सजग हुनुपर्ने च्याउ विज्ञ हरिहर अधिकारीको भनाइ छ । च्याउको विषयमा पाठ्क्रममा पनि राम्रोसँग जानकारी दिने हो भने मृत्यु हुनेको संख्यामा कमि आउने उनको भनाई छ ।

केन्द्रिय सरकारले उपत्यकामा मात्र च्याउको विषयमा जानकारी दिने भएकाले स्थानीय सरकारले पनि खान हुने नहुने च्याउको बारेमा जानकारी दिनु कार्यक्रम गर्नु आवश्यकता भएको उनले जानकारी दिए ।