नेकपामा टुंगिएन स्कुल विभागको विवाद, सचिवालय बैठक २८ गतेसम्म स्थगित



नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्कुल विभागमा देखिएको विवाद समाधान हुन नसकेपछि थप छलफल गर्न भन्दै बैठक स्थगित गरिएको हो ।

आज बसेको सचिवालय बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यविभाजनका निम्ति रुचिका प्राथमिकता बारेमा सोध्ने, सल्लाह गर्ने व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी समय दिइएको बताउनु भयो ।

नेकपामा स्कुल विभागको जिम्मेवारीलाई लिएर विवाद छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको चौध महिनापछि पनि विभागको टुंगो लागेको छैन । स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्नुभएको छ ।

दुवै नेताले स्कुल विभागमा दाबी नछोडेपछि सचिवालयले विभागको जिम्मेवारी तोक्न सकेको छैन । अर्को बैठक यहि साउन २८ गते बस्ने छ ।