‘मलाई हेग लगे पनि फरक पर्दैन, झन अन्तर्राष्ट्रिय हिरो हुन्छु’: प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालत पुर्याएपनि फरक नपर्ने जिक्किर गर्नुभएको छ ।

आज बिहान खुमलटारस्थित निवासमा ‘विप्लव’ नेतृत्वको नेकपा छोडेर आएकालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले आफूलाई हेग लिएर झुन्ड्याउने भन्ने कुरा सुनेको बताउनु भयो ।

उहाले अहिले प्रतिक्रियावादीहरू नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी नेताहरूलाई बदनाम गर्न र सिध्याउन लागेको पनि उल्लेख गर्नुभयो ।

प्रचण्डले षडयन्त्र र प्रचार बढी भएको र एक जनाले त आफुलाई १३ हजार मानिस मारेको भनेर झुन्ड्याउने, हेग लिएर जेल हाल्ने कुरा गरेको समेत बताउनु भयो ।

उहाले आफुलाई हेग लगे पनि केही फरक नपर्ने र त्यो आफ्ना लागि गर्वको कुरा हुने जिक्किर गर्दै हेग लगे आफुलाई विश्वभरका मानिसले एकै साथ चिन्ने बताउनु भयो ।