रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने सात जनाको गिरोह पक्राउ



रुपन्देही- रुपन्देही जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न  गिरोह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का दीपक चौधरी पनि  रहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

मुसलमान र मल्लाहको बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रवक्ता भण्डारीका अनुसार उनीहरुसहित चोरी भएका छ वटा मोटरसाइकल बरामद गरिएको छ ।