काँग्रेस केन्द्रीय समिति बैठकः १४ औ महाधिवेशनको मिति निर्धारण गर्न नेतृत्वलाई दबाब

१४ वटा एजेण्डामध्ये महाधिवेशनको विषय गम्भीर रुपमा छलफल हुँदै


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् ।

नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुँदै आएको छ । केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् भने केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन् ।

साथै केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दै विधान विपरित कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रीत भएपनि निष्कर्षमा भने पुगिन सकिएको बताउनुभयो ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कार्यतालिकाअनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताउनुभयो । असार २२ गतेदेखि सुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिदै चल्दै आएको छ ।

बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये नियमावलिको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरि नियमावली मस्यौंदा समितिलाई नै फिर्ता पठाइसकेको छ ।  उहाँले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल गरिने बताउनुभयो ।