राष्ट्रियसभाबाट ‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५’ पारित



राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, माथि सदनमा छलफल गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

यसैबिच, राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सुशासनसम्बन्धी अध्ययन प्रतिवेदन बैठकमा पेश गरिएको छ । बैठकमा समिति सभापति तारादेवी भट्टले गत चैत १० असार १ गतेसम्म सातै प्रदेशमा गरिएको अध्ययन प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्दै उहाँले सातै प्रदेशका विभिन्न स्थानमा दिगो विकास र सुशासनसम्बन्धी अन्तरक्रिया गरिएको बताउनुभयो । बैठकमा नेपाली काँग्रेसका सांसदहरु प्रकाश पन्थ, जितेन्द्रनारायण देव, बद्री पाण्डे र अनिता देवकोटाद्वारा संयुक्त रुपमा दर्ता गरिएको अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षासम्बन्धी ध्यानाकर्षण प्रस्ताव सभामा छलफल गरिएको थियो ।

मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने व्यक्तिलाई तालीमको व्यवस्था पनि गरेको र अपाङ्गता भएका व्यक्तिका परिवारलाई रोजगारसम्बन्धी तालीम दिन ठोस कार्यक्रम बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सबै दलबाट प्रतिनिधित्व हुने गरी सांसद भ्रमण टोलीले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदन जानकारी गराइएको थियो ।

टोलीले यही साउन ४ देखि ७ गतेसम्म प्रभावित १० जिल्लाका विभिन्न स्थानको स्थलगत भ्रमण गरी वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो १ बजे बस्नेछ ।