रुसको मस्कोमा विपक्षीको प्रदर्शन, एक हजार बढी पक्राउ



स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको विरोधमा रुसको मस्कोमा प्रदर्शन भएको छ । प्रहरीले एक हजार भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । शनिबार सिटी हलमा प्रदर्शन गरेकाहरुमाथि प्रहरीले लाठी बर्साएको थियो ।

प्रदर्शनकारीले आफू विपक्षीलाई चुनावमा सहभागी हुन नदिइएको विरोध गरेका छन् । सत्ता पक्षले राजनीतिक स्वार्थपूर्तिका लागि यस्तो गरेको उनीहरुको आरोप छ । आउँदो सेप्टेम्बर ८ मा हुने चुनावका लागि केही उम्मेदवारलाई प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन अधिकारीले ३० उम्मेदवारले आवश्यक पर्ने हस्ताक्षर संकलन गर्न नसकेको भन्दै चुनावका लागि अयोग्य घोषित गरेका छन् । सरकारी अधिकारीले एक हजार ७४ जनालाई प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेकोमा पक्राउ गरिएको बताएका छन् । तर पक्राउ पर्नेको संख्या १३ भन्दा बढी रहेको जनाइएकाे छ।

मस्कोका मेयर सर्गेइ सोब्यानिनले प्रदर्शन शहरको सुरक्षाका लागि खतरा रहेको बताएका छन् । विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई गएको बुधबार बिना स्वीकृति प्रदर्शनको आह्वान गरेको भन्दै ३० दिनको जेल सजाय दिइएको छ । उनी राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक हुन् ।