‘रअका प्रमुखको आगमनलाई लिएर नेपाली राजनीति तरंगित, विश्लेषक भन्छन् ‘अनावश्यक कोकोहोलो’



काठमाडौँ – भारतमा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएलगत्तै गुप्तचर निकाय ‘रअ’को प्रमुखमा नियुक्त भएका सामान्त कुमार गोयल्सको नेपाल भ्रमणबारे चर्चा सेलाएको छैन । सुटुक्क नेपाल भ्रमणमा आएका गोयल्सले नेपालमा प्रधानमन्त्री ओलीदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मलाई भेट गरेको विषयले ठूलै तरंग फैलियो ।

यतिसम्म कि प्रधानमन्त्रीले उनीसँग नभेटेको भन्दै सरकारका प्रवक्ताले वक्तव्यबाजी गर्नु प¥यो भने पूर्वराजाको सचिवालय तथा नेपाली सेनाले समेत विज्ञप्ति निकालेर ‘रअ’का प्रमुख गोयल्ससँग कुनै किसिमको भेटघाट नभएको दाबी गर्नु परेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले त बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘रअ’का प्रमुख र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गर्नु छ भने प्रमाण पेस गर्न चुनौती दिनुभयो ।

कर्मचारीको हैसियतमा रहने विदेशी राष्ट्रका कुनै एक निकायका प्रमुखको नेपाल आगमनको विषयलाई लिएर राजनीतिमा किन यति ठूलो तरंग फैलियो भनेर विश्लेषकहरु चकित परेका छन् । यसमा नेपालका राजनीतिज्ञले आफू अनुकुल व्यवहार गर्न नसकेका कारण अनावश्यक होहल्ला मच्चिएको परराष्ट्र विज्ञ ऋषि अधिकारीको बुझाई छ । उहाँ कर्मचारीको हैसियतमा आएका ‘रअ’का प्रमुखसँगको भेट भन्दा पनि भेटमा हुने कुराकानी र दिइने सूचनाको कुरा महत्वपूर्ण रहने बताउनुहुन्छ ।

भारतले नेपालको राजनीतिमा जहिले पनि हस्तक्षेपकारी भूमिका खेल्ने गरेको प्रष्ट छ । सत्ता टिकाउन पनि नेपालका नेताहरु भारतको आदेशपालक हुने गरेको विश्लेषण पनि हुने गर्छ । तर राजनीतिक विश्लेषक पुरन्जच आचार्य पछिल्लो पटक भएको ‘रअ’का प्रमुखको नेपाल आगमनलाई राजनीतिक वृत्तबाटै अनावश्यक उचालिएको तर्क गर्नुहुन्छ । सत्ता टिकाउन प्रभूलाई खुशी पार्नुपर्ने परम्परा बमोजिम पछिल्लो घटना घटेको उहाँको बुझाई छ ।

भारतको सत्तामा रहेको हिन्दुवादी धारको भारतीय जनता पार्टी एक मात्र हिन्दु राष्ट्र रहेको नेपाललाई फेरि उहि हैसियतमा फर्काउन चाहन्छ । यदि बाहिर हल्ला भएजस्तो पूर्व राजा ज्ञानेन्द्र शाह, विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्तामा रहेका ओली र दाहालसँग ‘रअ’का प्रमुखले भेट गरेको हो भने यसलाई हिन्दु राष्ट्रका एजेण्डा लाद्ने रणनीतिका रुपमा पनि बुझ्न सकिने विश्लेषक आचार्यको टिप्पणी छ ।

‘रअ’का प्रमुखको नेपाल आगमन र उनको यहाँका शक्तिकेन्द्रहरुबीचको भेटवार्ताको विषय चर्चामा रहेका बेला शनिबार केही घण्टाका लागि नेपाल आएका सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा। सुब्रमनियन स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने मन्तव्य दिनुभएको छ । कामाडौँमा आयोजित हिन्दुवादीको एक कार्यक्रममा यस्तो मन्तव्य दिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले भेटवार्ता गरेका छन् । प्रखर हिन्दुवादी नेताका रपमा रहेका सुब्रमनियन र प्रधानमन्त्री ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।