काँग्रेस सभापति देउवा भन्छन् “नेपालमा भनसुन उद्योग सुरु भईसक्यो”



शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन् ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोकार्पण कार्यक्रमा देउवाले नेपालमा सबै भन्दा ठूलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी उनको थियो ।

सभापति देउवाले भने“नेपालमा भनसुन उद्योग सुरु भईसक्यो । सबै भन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ उसको चल्छ । लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन फेल गर्दिए ।”

सभापति देउवाले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहिनता र हिंसाका घटनाहरु बढ्दै गएको , भ्रष्टाचार लगायत शुसासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए ।

कार्यक्रममा महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि सभापति देउवाले अब देखि अन्याय हुन नदिने प्रतिवद्धता नै गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरे । लेखक एवं नेता घिमिरेले आफु पूर्ण कालिन राजनीति व्यक्तित्व भएकाले ९० प्रतिशत राजनीति र १० प्रतिशत समय मात्रै साहित्यलाई दिने गरेको बताए ।