रअ प्रमुखको भ्रमणको चुरो



कुशुम भट्टराई

भारतका पूर्व विदेश सचिव सुब्रमण्यम जयशंकरजीलाई प्रधानमन्त्री नरेन्द्र मोदीजीले विदेश मन्त्री नियुक्त गर्नूभए यता नेपाल र भारतवीच राजनीतिक तहको सम्बन्धको कडी टुटन पुगेको छ । नेपाल मामिलामा भारतको कर्मचारीतन्त्र र खासगरी खुफीया एजेन्सीले डिल गर्न थालेको त हैन भन्ने आशँका बढदैछ ।

पहिलो पटक प्रधानमन्त्री हुँदा मोदीजीले राजनीतिक तहबाट नेपालसँग न्यानो सम्बन्ध कायम गर्न खोज्नुभएको थियो, जसले गर्दा नेपालमा मोदीजी र भारतप्रति एकखालको सकारात्मक भाव प्रवाहित भएको थियो । भारतविरोधी मानसिकता निकै कम भएको थियो र काठमाडौंका सडकमा ‘मोदी मोदी’ नारा नेपालीले नै गुञ्जाएका थिए ।

हालैको चुनावबाट मोदीजी शक्तिशाली त हुनुभएको छ, तर उहाँले छिमेकीहरुसँग राजनीतिक सम्बन्धलाई निरन्तरता दिन सक्नुभएन र खासगरी नेपालसँगको सम्बन्धलाई कर्मचारीतन्त्र, सेना र खुफीया एजेन्सीकै जिम्मा दिन उहाँ विवश हुनुभएको त हैन ? भन्ने प्रश्न पनि छ । जस्तै, नेपालमा भारतले थोपरेको अघोषित नाकाबन्दी पनि त नेपाली सेना र भारतीय सेनावीचको उच्च नेतृत्व तहको पहलबाटै हटेको यहाँ विर्सन मिल्दैन । नाकाबन्दीलाई राजनीतिक तहबाटै समाधान गर्न मोदीजी असफल हुनुभएकै हो ।

हालै, रअका प्रमुख सामन्तकुमार गोयलजीको गोप्य (तर गोप्य हुन नसकेको) भ्रमण अनि प्रधानमन्त्री ओलीजी, नेकपा अध्यक्ष प्रचण्डजी, प्रतिपक्षी नेता देउवाजीजस्ता राजनीतिक पँक्तिसँगको उहाँको भेटवार्ताबाट यही स्पष्ट हुन्छ कि अब भारत र नेपालवीचको राजनीतिक तहको सम्बन्ध कमजोर भएको छ र यसमा कर्मचारी हावी भएको छ ।

राजनीतिक तह उदार हुन्छ । कर्मचारी तह अली कडा हुन्छ । भारतको कर्मचारीतन्त्रमा नेहरुकालीन नोकरशाहीहरुको धङधङी अझै बाँकी रहेको सन्दर्भमा के राजनीतिक सम्बन्धको कडी टुटाउँदा नेपाल, भारत सम्बन्ध सुमुधुर भइरहन सक्ला ? यसमा शँका छ । प्रधानमन्त्री ओलीजीलाई भेटने भनेको उहाँको समकक्षी मोदीजीले हो । प्रचण्डजीलाई भेटने नै हो भने अमीत शाहजीले हो । अनि देउवाजीलाई भेटने नै हो भने राहुल गान्धीजीले भेटने हो । यही नै सम्बन्धको सही प्रोटोकल पनि हो । जब नेपालका शिर्ष नेताहरुले रअका प्रमुखसँग भेटछन्, यसबाट यो दुई तिहाई बहुमतको सरकारको नूर गिरेको मानिन्छ कि मानिदैन ? मुख्य प्रश्न यो पनि हो ।

अब ओलीजी, प्रचण्डजीदेखि देउवाजीसम्मले मोदीजी या अमीत शाहजीको हैन, रअका प्रमुखको कुरा सुन्नुपर्ने भो । अब भारतको नेपालमा चलीरहेको माइक्रो मेनेजमेन्ट त्यहाँको कर्मचारीले नै गर्ने भो । मोदीजीले नेपालका शिर्ष नेताहरुलाई तिनको औकात देखाइदिनुभयो । ‘तिमीहरुको स्टाण्डर्ड मसँग मिल्दैन, तिमीहरुलाई साइजमा ल्याउन मेरो एउटा कर्मचारी काफी छ, अब जे भन्नुछ, उनैलाई भन्नू’ भन्ने सन्देश उहाँले दिनुभएको हो ।

यति भइसक्दा पनि लैनचौरमा भोज भतेर खान जानेहरुको लर्को अझै टुटेको छैन । अनि हामी निमुखा जनता फेसबुक र युटयूबमा कराइरहन्छौं, नेताहरु सत्ता लम्ब्याउन जे पनि गर्न तयार छन् ।

राष्ट्रियताको सुरुवाल फुस्कीसक्यो, कमरेडहरु । तपाइहरु वस्त्रहीन भइसक्नुभयो ।