काँग्रेस केन्द्रीय समिति बैठक: आज पनि नियमावलीकै बारेमा छलफल



काठमाडौं, साउन । नियमावली विवादमा फसेको नेपाली काँग्रेसले आज पनि केन्द्रीय कार्यसमितिको बैठकमा नियमावलीकै बारेमा छलफल गर्ने भएको छ । गत असार २२ गते सुरु भएको बैठक पटक पटक स्थगित हुदै बस्दै आएपनि नियमावली विवादका कारण अहिलेसम्म अन्य कुनै पनि निर्णय लिन सकेको छैन ।

नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखक धार्मिक यात्रामा रहेकाले आजको बैठकले पनि यस विषयलाई टुंग्याउने संभावना न्युन रहेको छ । नियमावली बाहेक अन्य १३ वटा एजेण्डा समेत रहेको बैठकमा अन्य एजेण्डा ओझेलमा परेको छ ।

आउदो फागुनमा अहिलेको कार्यसमितिको म्याद सकिने भएकाले तत्काल महाधिवेशनको प्रक्रिया सुरु गर्ने की पछाडी सार्ने भन्ने बारेमा थप रस्साकस्सी हुन बाँकी नै रहेको छ । संस्थापन पक्षले महाधिवेशन सार्ने तयारी गरेको छ भने संस्थापन बाहेकको पक्षले तत्काल प्रक्रिया सुरु गर्नु पर्ने तर्क राख्दै आएको छ ।

सभापति देउवाले महाधिवेशन पछाडी सार्ने र त्यतिबेलासम्मका लागि खाली भएका पदमा मनोनित गर्ने तयारी गर्नु भएको छ भने अन्य पक्षले अव मनोनयन बन्द गरेर निर्वाचनबाटै पदपुर्ति गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिदै आएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बस्ने तय भएको बैठक भातृ संगठनहरुमा नियुक्ती, जागरण अभियानको समिक्षा लगायतका विषय पनि केन्द्रीत हुने नेताहरुले बताएका छन् ।