गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु, २ घाइते

उद्धारका लागि सुरक्षा निकायको टोली घटनास्थलतर्फ


गुल्मी- गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । घाइते हुनेमा सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु रहेको प्रहरीले जनाएको छ ।

उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले बताए । तर, वर्षा र पहिरोका कारण अहिलेसम्म घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेको छैन ।

स्याङ्जाको सीमामा पर्ने घटनास्थलमा उद्धार तथा राहतका लागि पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।