विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका अहेब छुटे



काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक स्वास्थ्यकर्मीलाई प्रहरीले छाडेको छ।

गोरखा नगरपालिका १० छेपेटारस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब रामचन्द्र पाण्डेलाई प्रहरीले सोमबार छाडेको हो। उनलाई विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा पाण्डे विप्लव समूहको नभइ नेपाली का‌ंग्रेस निकट रहेको फेला परेको हो। पाण्डे नेपाल स्वास्थ्यकर्मी संघ गोरखाका उपाध्यक्ष हुन्।